उत्तराखण्डको बाढीमा परी जाजरकोटका सात नेपालीको मृत्यु, ६ अझै सम्पर्कविहीन
भारतको उत्तराखण्ड राज्यमा हालै आएको बाढी र पहिरोले नेपाली श्रमिकहरूलाई ठूलो क्षति पुर्याएको छ। जाजरकोटको कुशे गाउँपालिका–२ टालेगाउँबाट ज्यालामजदुरीका लागि भारत गएका १३ मध्ये सात जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य ६ जना अझै बेपत्ता रहेका छन्।
उनीहरू सडक, मन्दिर र घर निर्माणजस्ता कामका लागि उत्तराखण्ड गएका थिए। उत्तरकाशी जिल्लाको हर्सिल उपत्यकास्थित धराली गाउँमा साउन २० गते आएको भीषण वर्षासँगैको बाढीपहिरोले उनीहरू बस्दै आएको टेन्ट बगाएको बताइएको छ।
मृतकको विवरण: –उत्तराखण्डको बाढीमा परी जाजरकोटका सात नेपालीको मृत्यु, ६ अझै सम्पर्कविहीन
कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार मृतकहरूमा अन्दाजी ४२ वर्षीय कर्णबहादुर सिंह, रामबहादुर सिंह, ४५ वर्षीय मानबहादुर सिंह, ३५ वर्षीय निमबहादुर सिंह, २४ वर्षीय रविन सिंह, जुम्लाको तातोपानी गाउँपालिकाका जनकबहादुर शाही, र रुकुमपश्चिमका नाम नखुलेका एक व्यक्ति रहेका छन्।
परिवारको अवस्था पीडादायक – उत्तराखण्डको बाढीमा परी जाजरकोटका सात नेपालीको मृत्यु, ६ अझै सम्पर्कविहीन
बाढीपहिरोको खबरले मृतक र बेपत्ता व्यक्तिहरूका परिवारमा शोक र तनावको अवस्था छाएको छ। काम खोज्न बाहिर गएका आफ्ना आफन्तहरूको निधनको खबरले गाउँभरि शोकको छायाँ छाएको छ।
गाउँपालिकाको पहल
कुशे गाउँपालिकाले घटनाप्रति दुःख व्यक्त गर्दै बिहीबार शोक विज्ञप्ति जारी गरेको छ। साथै, बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाल सरकार र परराष्ट्र मन्त्रालयसँग तत्काल पहल गर्न आग्रह गरेको छ।
स्थानीय सरकार, परिवार र समुदायले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै बेपत्ताको चाँडो सकुशल फिर्तीको कामना गरेका छन्।

